ताजा अपडेट

जाने होइन त भद्रगोल टिमले खोलेको रेष्टुरेन्ट नम्बर वानमा

डिल्ली बजारबाट कमलपोखरी चोकतिर जाँदा कारागारभन्दा दुई घर पर छ, इचिवान रेस्टुरेन्ट । केही समयअघि यो रेस्टुरेन्ट जापानिजको नाममा थियो । सञ्चालक जापानिज नै थिए । जापानी भाषामा इचिवानको अर्थ हुन्छ– नम्बर वान । करिब दश महिनाअगाडि यो रेस्टुरेन्टलाई टेली सिरियल भद्रगोलको टिमले किन्यो । भद्रगोलका कलाकारले किनेपछि रेस्टुरेन्टको ‘इन्टेरियर डिजाइन’ नै परिवर्तन भयो । रेस्टुरेन्टको हरेक भित्ता पेन्टिङले रंगियो । त्यो पनि सबै हातले बनाइएका ।

सिलिङमा पनि रङ पोतियो । पुराना नेपाली कलाकृति झल्कने डिजाइन बने । भित्तामा बालश्रम, यौन दुव्र्यवहारलगायत झल्काउने विम्बात्मक पेन्टिङ राखिए ।
त्यतिमात्र होइन, नयाँ हल थपिए । विभिन्न विभाग थपिए । रेस्टुरेन्टमा क्याफे, बार, थकाली किचेन, सेमिनार हल सबै छुट्टाछुट्टै छन् । ग्राहक आफ्नो मुडअनुसार जहाँ पनि बस्न सक्छन् ।

रेस्टुरेन्टको गेटभित्र छिरिसकेपछि अगाडि देखापर्छ, किचेन । सेफहरूले पकाइरहेको देख्न सकिन्छ । सञ्चालकमध्येका एक अर्जुन घिमिरे अर्थात् भद्रगोलका पाँडे भन्छन्, ‘ग्राहकलाई किचनमा छिर्नका लागि छुट छ । आफूले अर्डर गरेको आइटम कसरी पाक्छ, मजाले हेर्न सक्नुहुन्छ ।’ रेस्टुरेन्टभित्र सामान्यतया, नेपाली रेस्टुरेन्टमा पाक्ने सबै आइटम पाक्छ । इचिवानमा पाक्ने विशेष आइटममा पर्छ– थकाली, मटन कसौँडी, लेकाली आलु, कोठे मःमःलगायत । सञ्चालक कुमार कट्टेल अर्थात् भद्रगोलका जिग्री भन्छन्, ‘यहाँ हामीले एकदम रिजनेबल प्राइसमा ग्राहकलाई सेवा दिन्छौँ ।’ शुक्रबार र शनिबार विभिन्न ब्यान्डले गीत पनि प्रस्तुत गर्छन् ।

रेस्टुरेन्टबाट आएको मुनाफाको केही अंश भद्रगोलले टिमले समाज सेवामा लगाउने गरेको छ । उनीहरूले रेस्टुरेन्टबाट कमाएको मुनाफालाई धुर्मुस–सुन्तलीको क्रिकेट रंगशाला निर्माणार्थ सहयोग गरिरहेका छन् । शिक्षा, स्वास्थ्यमा खर्च गर्छन् । बाढीपीडितलाई पनि सहयोग गर्छन् । अर्जुन घिमिरे भन्छन्, ‘हाम्रो उद्देश्य व्यापार गर्नु मात्र होइन, सामाजिक काम गर्नु पनि हो ।’ कुमार कट्टेलको सहमति छ । उनी भन्छन्, ‘बिदेसिइरहेका युवालाई यहीँ अवसरको खोजी गरौँ’ भन्ने म्यासेज दिनका लागि पनि हामीले रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हौँ ।’

ग्राहकका लागि अनेक सेवा दिइरहेको छ, इचिवानले । करिब पाँच सयजना क्षमताको हल छ । रुफ टप छ । कफी खानका लागि छुट्टै कोठा छन् । थकाली खानाका लागि पनि छुट्टै छ । सेलिब्रेटीको पनि जमघट भइरहन्छ । भद्रगोल टिमले रेस्टुरेन्टमा अनेक सुविधा दिएको छ । साथै, लागू गर्नुपर्ने सम्पूणै नियम लागू पनि गरेको छ । कुमार कट्टेल भन्छन्, ‘हामी बालश्रमका विरुद्धमा छौँ, साथै नेपालमै केही गर्ने सोच बनाएकाहरूलाई यहाँ हायर गरेका छौँ ।’

भद्रगोल टिमले बर्थ–डे मनाउने ग्राहकका लागि विशेष सुविधा पनि दिएको छ । ग्राहकले आफ्नो जन्मदिन इचिवानमा मनाएमा ग्राहकसँग बसेर भद्रगोल टिम रमाइलो पनि गर्छ । अर्जुन घिमिरे भन्छन्, ‘ग्राहकको जन्मदिन हामी सबै टिम बसेर पनि मनाइदिन्छौँ ।’ भद्रगोल टिम अन्य ठाउँमा पनि इचिवानको ब्रान्च खोल्ने तयारीमा छ । from nayapatrikadaily.com

(Visited 92 times, 2 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *