ताजा अपडेट

भ्रष्ट्राचारको अखडा भित्र समृद्द नेपाल ?

युबराज आचार्य/ बाग्लुङ–
संसदवादीहरु सम्मेलित शक्तिशाली बहुमतको सरकारको मुख्य नारा यो छ कि समृद्द नेपाल सुखि नेपाली । सायद यो नारा यत्तिकै आएको होईन, या त यिनिहरुको ज्योतिष वा पादरीले जुरायो यो नारा या त बढो मेहनतका साथ संसदवादी दलालहरुले नै यो नारा जुराय । यति वजनदार नारा जुराय कि जसको आडमा उनिहरुले अहिलेको समयमा मात्रै होईन कि केहि बर्षसम्मको लागि नि निर्धक्क देश लुट्न लाईसेन्स प्राप्त गर्न सफल हुनेछन् ।

संसारभरमा हरेक देशका ब्यवस्था परिवर्तन पश्चात जनताले पुरानो ब्यवस्थाका कचिङगलहरुको दाहसंस्कार गर्नलाग्ने समयसम्मको अवधिमा वाहेक यसप्रकारको दुर्दशा कमैले ब्यहोर्नु परेका ईतिहास हामीसामु छन् । तर हाम्रो देशमा हरेक क्षेत्र, निकाय अनि सरकारी संरचनाहरुको स्थिति रत्तिभर बदलिएको छैन । कुर्सिमा शासक बदलिए तर राज्य ब्यवस्थाको स्वरुप र चरित्र बदलिएको छैन । तसर्थ हिजका राणा, राजा अनि पञ्चायतहरुले जसरि देशलाई लुट्नु सम्म लुटे आज पनि अवस्था त्यहि नै छ । यो लुटतन्त्रको सार्वभौम शुत्र भ्रष्ट्राचार रहेको छ । यस लेखमा परिवर्तित राज्य सत्ता र त्यसका मालिकहरुले आफ्नो विगतमा राजनितिक आन्देलमा सहभागी हुदा लागेको क्षतिको क्षतिपुर्ति लिदै त्यो लिईरहने समयअवधि बढाउनकै निम्ति जनतासामु फ्याक्ने नाराको बिचको तादम्यता र औचित्यता केलाउदै आम जनताको बिचमा भ्रष्ट्रचार सम्बन्धि केहि जाने बुझेका तथ्यहरुमाथी प्रकाश हाल्ने प्रयत्न गरेको छु ।

नेपाली जनताले राजनितिक आन्दोलन मार्फत राणा फाले, पञ्चायत फाले अनि २४० बर्षिय राजतन्त्रको पनि अन्त्य गरे । तर राज्य सत्ता सञ्चालनको तरिका फ्यांक्न अझै बांकि नै छ । राज्यको जनताप्रतिको अनुत्तरदायित्व फ्यांक्न अझै बांकि छ । राज्यका हरेक बेतिथिहरुलाई सुलि चढाउन अझै बांकि छ । देशमा लुटतन्त्रको स्वरुप बदलिएको छ । हिजोको ब्यक्तिवादी लुटतन्त्रले आज संस्थागत लुटतन्त्रको रुपधारण गरेको छ । हिजो दरबारमा बसेर लुटिन्थ्यो, आज जनताको बिचमा बसेर लुटिन्छ । हिजो जनताको टाउकोमा लाठि बजारेर लुटिन्थ्यो आज त्यहि टाउकोमा तेल लगाएर लुटिन्छ । हिजो जनतालाई हुकुम जारी गरेर लुटिन्थ्यो आज जनतालाई विभिन्न सपनाहरु बाँडेर लुटिन्छ । हिजो सिमित ब्यक्तिहरुले पजेरो चढ्दथे आज ति संख्याहरु ह्जारौमा बदलियका छन् । परिवर्तित राज्य ब्यवस्थाले नेपाली जनतालाई दिएको उपहार यहि हो । हिजोका सासकहरुले खुलस्थ रुपमा जनताको टाउकोमा गिर खेल्ने काम गरे आज पर्दा पछिडिबाट जनताको टाउकोमा गिर खेल्ने काम भएको छ । यस प्रकारको स्थितिको अन्त्य हुन जरुरि छ ।

हामी मालपोत कार्यालयमा जग्गासम्बन्धि कामकाजको निम्ति जान्छौं, अदालतमा न्याय सम्बन्धि कामकाजको निम्ति जान्छौं, आन्तरिक राजश्व कार्यायमा कर सम्बन्धि कामकाजको निम्ति जान्छौं, अन्य जे जति सरकारी कार्यालयहरु छन्, तिनिहरुमा कुनै न कुनै सरकारी सेवा तथा सुविधा प्राप्त गर्नकै निम्ति जान्छौं । ति मध्ये एउटा मात्रै कार्यालय होस् जहां, नागरिकको जानकारीको निम्ति सुचना बोर्ड भएको होस, ५ मिनेटमा सम्पन्न हुन सक्ने कामको निम्ति सेवाग्राहि ५(५ घण्टासम्म आलटालको सिकार बन्नु नपरोस, १ घण्टा समय लाग्ने काम घुस खुवाएर १ मिनटमा सम्पन्न पार्ने परिपाटी नभई कार्यालयको सेवा प्रदान गर्नसक्ने क्षमतको आधारमा १ घण्टामै ग्राहकको काम सम्पन्न भएको होस् तर वास्तविकतामा त्यो देखिदैन । कम लेखपढ भएका, कार्यालयको सेवा प्रदान गर्ने परिपाटी थाहा नभएका तथा साधारण तरिकाले सेवा लिन गएका कुनै पनि सेवाग्राहिले यहि सरकार अनि सम्बन्धित कार्यालयले नै तोकेको समयसिमाभित्र सेवा प्राप्त गर्न सक्दैन । त्यसबाहेक, कुनै बिचौलिया समातेर उसलाई आफ्नो काम सम्पन्न गर्नको निम्ति लाग्ने सरकारी खर्चभन्दा बिसौं गुणा भन्दा बढि रकम हस्तान्तरण गरेर उक्त बिचौलियालाई कामको जिम्मेवारी दिंदा तोकिएको भन्दा कम समयभित्र सम्पन्न हुन्छ, कसैले नदेख्ने गरेर सिधै कर्मचारीलाई केहि रकम हस्तान्तरण गरेमा काम तुरुन्तै हुन्छ , अनि, चिया पसल वा काम लिएर कार्यालय जानु अगावै सम्बन्धित कर्मचारीको समय मिलाई रेस्टुंरामा बसेर लेनदेनमा कुरा मिलाईसकेपछि काम समयमै सम्पन्न हुन्छ । यस प्रकारको परिस्थितिले के देखाउंछ ? यहांनिर यो प्रश्न अति नै महत्वपूर्ण छ ।

यस प्रकारको परिस्थितिले के जनाउंछ त भन्दा, नेपालमा नेपाल सरकारले तोकेका सेवा सुविधाहरु लिनको निम्ति या त तपाई दलालमार्फत कार्यालयको ढोका जानुपर्ने हुन्छ, या त घुस खुवाउने रकम बोकेर जानुपर्ने हुन्छ, या त तपाई, सम्बन्धित कर्मचारीलाई कार्यालय बाहिर भेटेर लेनदेनका कुराहरु टुङगाएर सेवाको निम्ति कार्यालय जानुपर्ने हुन्छ । लाखौंलाख युवाहरुले खाडिमा पसिना बगाएर आर्जैको रेमिट्यान्स, हजारौं हजार युवाहरुले तेस्रो मुलुकमा श्रम बेचेर आर्जेको रेमिट्यान्स, देशभित्रका विभिन्न पेसा ब्यबसाय गरेर सरकारलाई तिरेको कर अनि खर्बैं रुपैया विदेशि रिण लगाएतका श्रोतहरुबाट तय गरिएको बजेटबाट तलब खाने सरकारी कर्मचारीहरुबाट त्यसरी पसिना जनताले स्यंम सरकारले तोकेका सेवा तथा सुविधाहरु प्राप्त गर्नको निम्ति सेवा खरिद गर्नलाई तम्तयार भएर सरकारी कार्यालय जानुपर्ने ? यो भन्दा भ्रष्ट्रारको दुर्दशा अरु के हुन सक्दछ ? यो सरकारका मतियारहरुलाई हेक्का रहोस् कि, यस प्रकारको कर्मचारीतन्त्र अनि सरकारी रबैयाले देशमा समृद्दि आउने आशा, जनताले गर्न सक्दैनन ।

संसदवादीहरुले वास्तविक पिडित जनताको भन्दा ब्यक्तिगत तथा आफ्नो दलिय पावरको संचित गर्ने कुरालाई बढि विस्वास गर्दछन र त्यसको निम्ति रातोदिन लाग्दछन् । ब्यक्तिगत पावरले नै उनिहरुको लागि आफ्नो दल वा समग्र सरकार चलाउने हैसियत प्रकट गर्दछ त्यसकारण शक्ति आर्जनको निम्ति संसदवादी दलका नेताहरुको तछाड मछाड नै हुन्छ । उनिहरुले त्यस प्रकारको शक्ति आर्जनको निम्ति, जनतालाई विभिन्न प्रलोभन देखाउदै आफु र आफ्नो दल नै जनताको दल भएको भन्दै भ्रम छर्ने, दलाल पुजिपतिहरुलाई निकटतम साथीहरु बनाउने, पार्टीमा गुण्डाहरु पाल्ने, ब्यापारी तथा ब्यवसायीहरुलाई आफ्ना बनाउने, सरकारी कर्मचारीहरु आफ्नो पोल्टामा पर्ने लगाएतका कामहरु गर्दछन । जसले गर्दा, यिनिहरुलाई शक्ति आर्जन हुन्छ र उनिहरु चुनाव जितेर सरकारको नेतृत्व गर्दछन । जसको प्रतिफस्वरुप जनताले फोकटका आश्वासनहरु प्राप्त गर्दछन्, दलाल पुजिपतिहरुले राष्ट्रिय अर्थतन्त्रलाई तहसनहस पार्ने, ठुला ठग ब्यापारीहरुबाट हुने करछलि तथा लुटले राष्ट्रिय ढुकुटि खत्तम हुने लगाएतका कुराहरुको शिकार बन्दछन् र निशुल्क सरकारी सेवा प्राप्त गर्नवाट बञ्चित हुन्छन् । जसबाट समग्र देश नै भ्रष्ट्रचार, चरम दलाली, गुण्डागर्दी, हत्याहिंसा, करछलि तथा घुसखोरीको शिकार बन्न पुग्दछ । यसले के देखाउछ भने, राज्य र राज्यको सम्पत्तिको चरम दोहन गर्नको निम्ति ठुलो दलका नेताहरु, दलालहरु गुण्डाहरु, ठुला ठग ब्यापारीहरु र सरकारी कर्मचारीहरु लगाएतका मानिसहरु नै प्रमुख पात्रको रुपमा अगाडि आउंछन् । यस प्रकारको परिस्थितिले त्यतिमै उल्लेखित मध्ये एकले चाहेर मात्रै परिस्थिति तयार हुने होईन । त्यस प्रकारको परिस्थिति तयार हुनको निम्ति नेता, दलालहरु, कर्मचारी, ठग ब्यापारी, गुण्डा लगाएतका पक्षहरुको बिचमा घनिष्ट सम्बन्ध हुन्छ । नेताको निम्ति दलालहरु, कर्मचारीहरु, ठग ब्यापारीहरु र गुण्डाहरु चाहियो, दलालहरुलाई नेता र कर्मचारीहरु चाहिन्छ, कर्मचारीको निम्ति नेता र दलाल चाहियो, ब्यापारीलाई सरकार, कर्मचारी र गुण्डाहरु चाहियो र गुण्डाहरुलाई नेता तथा ब्यापारीहरु चाहियो । यस प्रकारको अघोषित तथा जनताद्दारा अनपेक्षित सम्बन्धले नै हाम्रो देश नेपाल चल्ने गरेको छ जसले गर्दा राज्यका हरेक अंगहरु तथा राष्ट्रिय सम्पत्तिहरु साधारण जनताको पहुंचभन्दा निकै नै बाहिर छन् भ्रष्ट मान्छेहरुको दाउमा पर्ने गरेका छन् ।

अहिले नेपालमा कम्युनिष्ट पार्टीको नाममा संसदवादी दलाल पुजिपति वर्गले सरकार चलाईरहेका छन् । देशमा उत्पादन प्रणाली शुन्यप्राय छ , लाखौं लाख युवाहरु रोजिरोटीको निम्ति विदेशिन बाध्य छन् जसलाई यो सरकारले आफ्नो सफलता ठानेर अगाडि बढिरहेको छ । युवाहरुलाई विदेश लखेट्नका निम्ति सरकारले विदेशि मुलुकहरुसंग गरेका श्रम सम्झौताहरुले मिडियाका फ्रण्ट पेजहरुमा हेडन्युको रुपमा स्थान पाईरहेका छन् । हरेकजसो आयोजनाहरु तथा निर्माणका कार्यहरुमा भ्रष्ट्राचार र कमिसनको खेलले आयोजना लिएर काम गर्न अगाडि बढेका ठेकेदारहरु आक्रान्त बनेका छन् । दिनहु हरेक सरकारी कार्यालयहरुमा दलाल तथा बिचौलियाहरुले सर्वसाधारण जनतालाई ठग्ने गरेका छन् । यस प्रकारको स्थितिमा यी दलाल पुजिपति तथा तिनिहरुका कारिन्दाहरुले समृद्द नेपाल सुखि नेपालीको लोकप्रिय नारालाई अगाडि सारेर जनाताको आंखामा छारो हाल्न सफल भएका छन् । विकाशको नाममा हुने कमिसन, घुसखोरी तथा लुटको यहाँ कुनै लेखाजोखा नै छैन । जुन देशमा जन्मेको मानिस बाहिरि देशको श्रमिक भई जन्मिन्छ भन्ने पहिल्यै फिक्स भईसकेको अवस्था छ, जहाँ हरेक क्षेत्रमा घुसखोरि र भ्रष्ट्राचारले जनता आक्रान्त भएका छन् त्यहि देशका शासकवर्गले यस प्रकारका नारा ल्याउन सुहाउने कुरै हुंदैन । देशमा अर्बैं अर्ब रुपैया कर छलि गर्ने ठुल ठुला ठग ब्यापारी तथा बहुराष्ट्रिय कम्पनिहरुलाई जनताको सम्पत्ति लुट्नको निम्ति अघोषित रुपमा यो सरकारले पुर्ण स्वतन्त्रता प्रदान गरेको छ । शिक्षा, स्वास्थ्य जस्ता जनताका मौलिक हक र अधिकार भित्र पर्ने विषयवस्तुहरुलाई दलाल, कर्मचारी तथा नेताहरुले चरम भ्रष्ट्रचारका केन्द्रहरुका रुपमा विकशित गरिरहेका छन् । देशमा सरकारी जग्गाहरुलाई कमिसनको चलखेलमा निजिकरण गरि ब्यक्तिगत सम्पत्तिको रुपमा रुपान्तरण गरिएका छन् । विश्वविधालयमा प्राध्यापकको नियुक्ति, हरेक क्षेत्रका निजामति कर्मचारीहरुको सरुवा बढुवा तथा नियक्ति, अड्डा अदालत, सेना, पुलिसमा भर्ना तथा सरुवा बढुवा गर्दा चरम भ्रष्ट्रचार हुने गरेको छ । एयरपोर्टमा जहाज खरिद गर्दा मालसामनहरु ओसारपसार गर्दा, भन्सार कार्यालयहरुबाट मालसामनहरु ओसारपसार गर्दा लगाएतका देशका अति नै महत्वपूर्ण अंगहरुमा दलाल तथा गुण्डाहरुले ब्यापकरुपमा आर्थिक चलखेल तथा अनियमितता का आधारमा नै आफ्ना स्वार्थहरु सहज रुपमा पुर्ति गर्ने गरेका छन् । तर कतिपय घटनाहरुलाई यिनै दलाल पुजिपतिहरुले राजनितिक आस्थाका आधारमा आफ्नो दलनिकट नभएका हरुका काण्डहरुलाई बाहिर ल्याउने कामहरु पनि गरेका छन् । राजनितिक आस्थाको आधारमा आफ्नो दलको नेता, कार्यकर्ता तथा पावरवाला मान्छे, कसैको आफन्ती भएको आधारमा ति मान्छेहरुले गर्ने अनियमिततम समबन्धि हरेक कुराहरुलाई उनिहरुले भित्रभित्रै मिलाएर गुपचुप पार्ने गरेका छन् । यस प्रकारको स्थितिले के देखाउछ भने, देशका हरेक क्षेत्रहरुमा भ्रष्ट्राचारको अखडा कायम छ जसको नियन्त्रण गर्न यो सरकार असफल छ र सरकारको चरित्रले पनि भ्रष्टा«चार नियन्त्रणमा कुनैपनि कदम नचाल्ने पक्का छ र समृद्ध नेपालको नारा जनता झुक्याउने बेवकुफ नाराको रुपमा प्रमाणित भईसकेको छ । त्यसका साथै यो नाराले नेपालको वास्तविक स्थितिलाई नजरअन्दाज गर्नका साथै सरकारको चरित्र र नाराको विचमा कुनै पनि प्रकारको तादम्यता देखिदैन् ।

जनताले तिरेको हरेक करको पाईला पाईलामा हिसाव गरिनुपर्दछ । एउटा जिम्मेवार राज्यले जनतालाई दिनुपर्ने हरेक सेवा तथा सुविधाहरु विनासर्त दिनुपर्दछ र जनताले सहर्ष लिन पाउनुर्दछ । लाखौं लाख युवाहरुले विदेशि भुमिमा बगाएको पसिनाले आर्जेको रेमिट्यान्स बापतको राष्ट्रिय सम्पत्तिलाई यि दलाल तथा भ्रष्ट्रचारीहरुबाट चरम दुरुपयोग हुनबाट बचाउनुपर्ने हुन्छ । आज देशमा ब्यक्तिगत कम तर संस्थागत तथा राजनितिक भ्रष्ट्राचारले चरम सिमा नागेको स्थिति छ । सरकारका हरेक अंगहरुमा जनताले आफुले पाउनुपर्ने न्युनतम पनि सेवा सुविधाहरुलाई किन्नुपर्ने स्थिति छ । मन्त्रि, मेयर, सांसद तथा अन्य महत्वपूर्ण पदमा आसिन मानिसहरुले जनताका समस्याहरुलाई पूर्ण रुपमा वेवास्था गर्दै, विलासी जिवनशैलिमा प्रतिस्पर्दा गरिरहेको अवस्था छ । यस प्रकारको वेतिथि अनि अनियमितताको चरम रुपमा रोमलिईरहेको देशमा यहि सरकारले आफ्नो सत्ता टिकाउनकै निम्ति समृद्द नेपाल सुखि नेपालीको नारा अगाडि सारेर भ्रमपुर्ण प्रचारबवजी गरिरहेका छन जसलाई केहि बाहेक आम गरिव, निमुखा तथा सर्वसाधारण जनताले सचेतनाका हतियारले सुसज्जित आंखाहरुले हेर्न सकिरहेको अवस्था छैन् । यस प्रकारको स्थितिमा यि दलालहरुले दिएको नाराले, नेपालमा सरकार नै भ्रष्ट्राचारको मतियार हो भन्ने कुराको पुष्टि गर्दछ । जसको बिरुद्दमा क्रान्तिकारी कम्युनिष्ट पार्टीले मात्रै सचेतनाका साथ आन्दोलनको नेतृत्व गर्नसक्ने सामाथ्र्य राख्दछ । त्यसैले आजको देशको यस प्रकारको स्थितिमा, सम्पुर्ण न्यायपे्रमि जनसमुदाय र सोषितपिडित जनताहरु सबैजना मिलेर जनवादी आन्दोलनको वेगमा यि भ्रष्ट्रचारीहरुका हरेक हर्कत र कर्तुतहरुलाई जरैदेखि उखेल्न प्रयत्न गर्दै जनवादी आन्दोलदलाई अगाडि बढाउनुपर्ने हुन्छ जसले राज्य ब्यसस्थाको परिवर्तनसँगै जनता लुटने भ्रष्ट शासकहरुको अन्त्य गर्नेछ ।

(Visited 36 times, 1 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *