Saturday, August 8यहालाई स्वागत छ....

नेपालीलाई दुर्व्यबहार गर्ने माथि भारतले कारवाही थाल्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ। भारतको बनारसमा नेपाली नागरिकमाथि भएको दुव्र्यवहार र नेपाली मन्दिरमा टाँसिएका पोस्टरको बिषयमा उत्तरप्रदेश सरकारले कारबाही अघि बढाएको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्यासँग सम्बन्धित अभिव्यक्तिसँग जोडेर त्यहाँका नेपालीमाथि भएका दुव्र्यवहार गलत भएको भन्दै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यस्तो व्यवहार गर्नेलाई कारबाही थालिएको जानकारी दिनुभएको हो । भारत स्थित नेपाली दूताबासले घटनाबारे चासो राख्दै शुक्रबार मुख्यमन्त्री आदित्यनाथसँग टेलिफोनमा चासो व्यक्त गरेको थियो ।

मुख्यमन्त्री आदित्यनाथ भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यसँगको कुराकानीका क्रममा नेपाली नागरिकमाथि भएको दुव्र्यवहारका विरुद्ध कारबाही थालिएको जनाउ दिनु भएको राजदूत आचार्यले गोरखापत्रसँग बताउनुभयो ।

“नेपालीहरु उत्तरप्रदेशमा सुरक्षित रहनेछन्, कारबाही सुरु भैसकेको छ, नेपालसँग हाम्रो सांस्कृतिक सम्बन्ध छ र जनस्तरको सम्बन्ध बलियो छ त्यसलाई विथोल्न र खल्बलिन हामी दिदैनौ,” भनेर मुख्यमन्त्री आदित्यनाथले आश्वस्त पार्नुभएको राजदूत आचार्यले सुनाउनुभयो ।

विश्वहिन्दु सेनाका कार्यकर्ताले त्यहाँ स्थित एक नेपालीलाई जबरजस्ती केसमुण्डन गरि टाउकोमा श्रीराम लेखेर प्रधानमन्त्री ओली र नेपाल विरुद्ध नारा लगाउन लगाएको भिडियो सार्वजनिक गरेका थिए । साथै बनारसको ललिताघाट स्थित पशुपतिनाथको मन्दिरमा नेपाल विरोधी पोस्टर समेत टाँसिएका थिए । यो मन्दिर नेपालका तत्कालिन राजा रणबहादुर शाहले आफू प्रवासमा रहँदा निर्माण गर्नुभएको थियो । सो घटनालाई लिएर प्रहरीले संघका संस्थापक अध्यक्ष विरुद्ध नै उजुरी दर्ता गरेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले नेपालमा रामसँग सम्बन्धित बिषयमा थप अनुसन्धान हुनसक्ने बताउनु भएको थियो । साथै यस घटनालाई लिएर नेपालको कसैको भावनामा चोट पुर्याउने आसय नरहेको समेत सरकारले स्पष्ट पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *