Thursday, October 22यहालाई स्वागत छ....

जनस्वास्थ्यका मापदण्ड पालना गर्ने हो भने अझपनि रोग नियन्त्रण हुने अवस्था छ : डा. गौतम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमणको दर पहिलेभन्दा अहिले बढेको र यो ८ देखि ११ प्रतिशसम्म रहेको स्पष्ट पारेका छन् । काठमाडौं उपत्यकामा धेरै जनसंख्या भएकोले यहाँ धेरै केशहरु भेटिएको उनको स्पष्टोक्ति छ ।

काठमाडौँमा कोरोनाको संक्रमण ह्वात्तै बढ्यो । किन बढ्यो ? के कारणले बढ्यो ? तपाईँहरूले अनुसन्धान गरिरहनुभएको छ ?

नेपालमा अहिले कोरोना संक्रमणको प्रतिशत ८ देखि ११ प्रतिशतसम्म छ । यो रेट दुई महिना अगाडि केही कम भएको थियो । अहिले फेरि त्यो रेट बढेको छ ।

बढेको छ, काठमाडौँमा बढिरहेको छ । हिजो त काठमाडौँमा अहिलेसम्मकै धेरै संक्रमण देखियो नि ?

काठमाडौँको जनसंख्या धेरै भएको भएर यहाँ धेरै केशहरू भेटिएको हो ।

त्यसोभए महामारीतिर गयो कि गएन, काठमाडौँ ? समुदायमा त गईसक्यो नि ?

महामारी भनेको त पहिल्यैदेखि हामीले भनिरहेका छौँ । यो महामारी हो । यो कोभिड १९, यो कोरोना, महामारी रोग हो यो । हामी त्यसैभएर यसलाई प्यान्डेमिक भन्छौँ । एउटामात्र देशमा भयो भने इपिडेमिक, एउटा देशबाट अर्को बाहिर देशमा पनि गयो भने प्यान्डेमिक । यो प्यान्डेमिक महामारी रोग हो ।

तर काठमाडौँका जनता यतिखेरि सन्त्रासमा छन्, प्रत्येक दिन संक्रमणको संख्या बढ्दाखेरि । अब के गर्ने ? कसरी साबधानी अपनाउने ?

यो कुरा त हामीले धेरैपटक भनिरहेकै छौँ । आज पनि भन्छु फेरि । यसको रोकथामको लागि एकदम ठुलो काम गर्नपर्ने केही पनि छैन । अहिले पनि अत्यन्त जरुरी नपरीकन घरबाट बाहिर ननिस्कनुस् । किनभने रोग आईपुगेको छ, काठमाडौँमा । दुई मिटरको दुरी कायम गर्नुहोस् । दुई मिटरको दुरी कायम गर्न सकिँदैन भने त्यो ठाउँमा नजानुहोस् । अनिवार्य रूपमा मास्क प्रयोग गर्नुहोस् । यसो गरियो भने रोकिन्छ । थोरै प्रतिशत हातबाट अरू ठाउँमा छोईएर अनि त्यो हातले अनुहारतिर छोएर सर्ने हुन्छ । त्यसो भएर साबुन पानीले राम्रोसँग हात धुनुहोस् । त्यो गर्न सम्भव छैन भने स्यानिटाइजर प्रयोग गर्नुहोस् । यो कुरा गरेरै कन्ट्रोल गर्ने हो ।

तर हटस्पट भयो नि काठमाडौँ ? धेरैले भनेका छन् नि ?

अहिले के भयो भने मान्छेले यो कोरोना भनेको केही होइन, यो कसले उब्जाएको हो, यो व्यापारीहरूको हल्ला हो भनेर भन्नेहरूले पनि यो रोग फैलिनमा प्रोत्साहन दिएका छन् । यो माइतीघर मण्डलातिर १०० प्रतिशत पि.सि.आर भन्दै मान्छेहरू प्लेकार्ड बोक्दै, जुलुस गर्दै गर्दा राजनीतिक पार्टीका कार्यकर्ताहरू भेला र आमसभा गर्दैगर्दा, बालुवाटारतिर घेर्दै गर्दा अनि मच्छिन्द्रनाथको रथ तान्ने नाममा भीड गर्दा, यी कारणले गर्दा काठमाडौँमा रोग बढ्न गएको हो । अझ पनि स्थिति धेरै बिग्रिएको छैन । हामीले जनस्वास्थ्यको मापदण्ड पालना गर्ने हो भने अझ पनि रोग नियन्त्रण हुने अवस्था छ ।

डब्ल्यु.एच.ओ. को कुरा गर्दाखेरि उसको भूमिका नेपालमा गलत भयो रे । डब्ल्यु.एच.ओ. ले जे भन्यो, तपाईँहरू त्यही गर्नुहुन्छ रे ?

गलत भन्ने फेरि व्यापारीहरूको कुरा हो ।

बाहिर आईरहेको छ नि कुरा त ?

डब्ल्यु.एच.ओ. को कुरा पालना गरेको भए त यो अवस्था आउने नै थिएन नि । धेरै मान्छेहरूले पालना गर्नुभएको छ । उहाँहरूलाई हाम्रो सम्मान छ । उहाँहरूलाई धन्यवाद छ । उहाँहरूलाई सलाम छ । तर जसले पालना गरेनन्, ती मान्छेहरूले समस्या बनाए नि त । त्यसोभएर स्थिति अझै पनि त्यति धेरै बिग्रिएको छैन । हामी संयमित, समझदार हुनुपर्छ । हामीले जनस्वास्थ्यका मापदण्डहरू पालना गरौँ । अझै पनि रोग नियन्त्रण हुन्छ ।

भ्याक्सिनहरू धमाधम बनेको बनेकै छ । विश्वभरि यसको चर्चा भएको छ । कहिले रुसमा हुन्छ, कहिले अमेरिकामा हुन्छ , कहिले बेलायतमा हुन्छ, कहिले अष्ट्रेलियामा हुन्छ, कहिले भारतमा हुन्छ, कहिले चीनमा हुन्छ । तर नेपालमा औषधी बनेको छ तर पनि डब्ल्यु.एच.ओ. ले साथ दिएन रे ? डब्ल्यु.एच.ओ. ले मापदण्डको कुरा गरिरहन्छ रे ?

११३ भन्दा बढी भ्याक्सिनहरूको कामहरू भईरहेको छ । कति फेज २ ट्रायलमा छन् । कति फेज ३ ट्रायलमा छन् । अहिलेसम्म भ्याक्सिन बनेको छैन । भ्याक्सिन अहिलेसम्म कम्प्लिट भएको छैन । यो अध्ययनकै क्रममा छ । यसको कुनै पनि औषधी छैन । डब्ल्यु.एच.ओ. ले यसो गरेन, उसो गरेन भन्ने दोषारोपण हो त्यो । दोष त लगाउन पाईन्छ तर यथार्थ त्यस्तो होइन । अहिलेसम्म संसारमा कहिँ पनि भ्याक्सिन तयार भएको छैन ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय डब्ल्यु.एच.ओ. को निर्देशन अनुसार चलेको छ हो ?

त्यस्तो कुरा होइन । डब्ल्यु.एच.ओ. ले सुझाव दिने हो । निर्णय हामीले गर्ने हो । केही न केही आधार त मान्नुपर्छ नि त । के मान्ने ? जस्तो भनौँ न तपाईँँले औषधी उत्पादन गर्नुभयो भने त्यो औषधीको टेस्ट गर्नुपर्छ । टेस्ट गर्दा उपयोगी देखिनुपर्छ । डब्ल्यु.एच.ओ. ले सिफारिस नगर्दा पनि नेपालमा खोप लगाईएको छ, पहिला । त्यस्ता दृष्टान्त, घटनाहरू पनि छन् । अहिलेसम्म त खोप बनिसकेकै छैनन् । खोपको कुरा किन यति धेरै आएको ?

नेपालमा पनि त डाक्टरहरू आईरहेका छन् । उनीहरूले भनिरहेका छन्, हामीसँग उपचार गर्न सक्ने क्षमता छ, औषधी छ । आयुर्वेदिकका धेरै इतिवृत्तान्त पनि बाहिर आउँछन् नि त ।

आयुर्वेदिक मेडिसिन वा अन्य कुनै वैकल्पिक मेडिसिन वा एलोपेथिक मेडिसिन कुनै पनि मेडिसिन कोरोना रोगको उपचार होइन । रोग लागेको मान्छेहरूलाई सहयोग मात्र गर्ने हो । कोरोनाको भाइरस त्यसले मार्दैन । तर मान्छेको स्वास्थ्य राम्रो बनाएर, मान्छेको खानपान राम्रो बनाएर, रोगको विरुद्धमा लड्न सक्ने शक्ति अलि बढाएर अलिकति सहयोग गर्न सक्छ । कुनै पनि औषधी अहिलेसम्म यो रोगको विरुद्धमा उपयोगी छैन ।

अस्पतालले उपचार गर्न नमान्दा विराटनगरमा गर्भवतीको मृत्यु भयो । तपाईँहरूको ध्यान त्यता जाँदैन ? अस्पताल किन आज विरामीहरूको उपचार गर्न चाहँदैन ?

कुनैपनि अस्पतालले विरामीको उपचार गर्दिनँ भन्न पाईदैँन । कुनैपनि डाक्टरले विरामीको इमरजेन्सीमा उपचार गर्दिनँ भन्न पाईदैँन । हामीलाई पनि त्यस्ता २÷४ ओटा घट्ना आएका छन् । हामीले तिनीहरूलाई कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाएका छौँ ।

त्यसोभए निजी अथवा सरकारी अस्पतालहरूले कोरोनाको विरामीको उपचार गरेनन् भने कारबाही गर्नुहुन्छ तपाईँँ ?

उपचार ईमरजेन्सी त गर्नैपर्छ नि । ईमरजेन्सी परेको छैन भने एक ठाउँबाट अर्को ठाउँमा रिफर पनि गर्न सकिएला । कोरोना होस् कि हैजा होस् कि अरू कुनै होस्, कुनै पनि रोगको उपचार म गर्दिनँ भनेर कुनै पनि डाक्टरले, कुनै अस्पतालले भन्न पाउँदैन ।

तर विराटनगरमा त्यस्तै भयो डाक्टरसाहब । तपाईंले देख्नुभएको छ ?

त्यस्तो भएको हामीले अध्ययन गर्छौँ । कारबाही हुन्छ ।

कारबाही हुन्छ, निजी अस्पतालले सहयोग गरेको छ, सरकारलाई ?

अस्पताल अहिले लाईन लागेर आएका छन्, हामी कोरोनाको उपचार गर्छौँ भनेर । कति उपचार गर्दिनँ भन्नेहरूले पनि अहिले डिफरेन्ट स्किमहरू निकालेका छन् । अहिले निजी अस्पतालहरूले पनि सहयोग गरिरहेका छन् ।

तर महंगो भयो नि निजी अस्पताल ? कोरोनाको विरामीलाई उपचार गर्नका लागि । कसरी गर्ने ? त्यत्रो पैसा कहाँबाट ल्याउने ?

आफैले नै पैसा तिर्नेगरी निजी अस्पताल जाने, हामीले तोकेका निजी अस्पतालमा जाँदा पैसा विरामीले तिर्नुपर्दैन, नेपाल सरकारले तिरिदिन्छ । नेपाल सरकारका अस्पतालहरू अन्य सामुदायिक, सरकारीका अरू व्यवस्था मिलाईएको छ । जो मान्छे, म एकदमै राम्रो सेवा लिन्छु, म छुट्टै कोठामा बस्छु, म डिलक्सको सेवा लिन्छु भनेर प्राइभेटमा जान्छ भने त उसले पैसा तिर्नुपर्छ ।

पि.सि.आर टेस्ट गर्दाखेरि पैसा तिर्नुपर्दैन ?

पि.सि.आर टेस्ट हामीले गरिरहेका छौँ । पैसा तिर्नु परेको छैन । कोही मान्छे गएर, होइन म त सरकारीमा जाँदिन, म लाईन बस्दिनँ, म त्यतातिर जाँदिन, म प्राइभेटमा नै जान्छु, खर्च गर्छु भन्यो भने मान्छेको स्वतन्त्रता छ नि त । आफु पैसा तिर्छु भन्दा तिर्न पाईन्छ ।a

Leave a Reply

Your email address will not be published. Required fields are marked *